Rule 11
शैक्षिक गुठी सम्बन्धी व्यवस्था
(१) शैक्षिक गुठीको रुपमा विद्यालय सञ्चालन गर्न चाहनेले शैक्षिक गुठी सम्बन्धी विधान बनाई सम्बन्धित निर्देशनालयमा दर्ता गराउनु पर्नेछ ।
(२) शैक्षिक गुठी निजी र सार्वजनिक गरी दुई किसिमले दर्ता गर्न सकिनेछ ।
तर ऐनको दफा ३ को उपदफा (६) मा उल्लेखित विद्यालय सञ्चालन गर्न निजी गुठी दर्ता गर्न सकिने छैन ।
(२क) उपनियम (२) को प्रतिबन्धात्मक वाक्यांशमा जुनसुकै कुरा लेखिएको भए तापनि कुनै व्यक्ति वा संस्थाले निजी गुठीको रुपमा विद्यालय सञ्चालन गर्ने गरी कुनै विद्यालयलाई भवन वा जग्गा दानदातव्य दिएमा त्यस्तो विद्यालय निजी गुठीको रुपमा सञ्चालन गर्न सकिनेछ ।
(३) शैक्षिक गुठी सम्बन्धी विधानमा देहायका कुराहरु खुलाएको हुनु पर्नेछः–
(क) विद्यालयको नाम र ठेगाना,
(ख) शैक्षिक गुठीका संस्थापकको नाम र ठेगाना,
(ग) शैक्षिक गुठीका गुठीयार तथा गुठीयारको मुख्य भई काम गर्ने व्यक्तिको नाम, नियुक्ति प्रकृया र कार्यकाल,
(घ) गुठीयारको काम, कर्तव्य र अधिकार तथा निजहरुले पाउने सुविधा,
(ङ) शैक्षिक गुठीमा रहेको घर जग्गा, आम्दानी, ऋण तथा अन्य सम्पत्तिको विवरण,
(च) आवश्यक अन्य कुराहरु ।
(४) सार्वजनिक शैक्षिक गुठीमा सम्बन्धित विद्यालयका संस्थापक, प्रधानाध्यापक र मन्त्रालयले तोकेको व्यक्ति तथा निजी शैक्षिक गुठीमा सम्बन्धित विद्यालयका संस्थापक वा निजले तोकेको व्यक्ति पदेन गुठीयार हुनेछ ।
(५) सार्वजनिक शैक्षिक गुठीमा कम्तीमा पा“च जना र निजी शैक्षिक गुठीमा संस्थापकले चाहे बमोजिमका व्यक्ति गुठियार हुनेछन् ।
(६) सार्वजनिक शैक्षिक गुठीको गुठियारमा सरकारी प्रतिनिधि, स्थानीय निकायका प्रतिनिधि र अभिभावकहरु मध्येबाट कम्तीमा एक एक जना सदस्य राख्नु पर्नेछ ।
(७) उपनियम (६) बमोजिम शैक्षिक गुठीमा प्रतिनिधित्व गर्ने सरकारी प्रतिनिधि जिल्ला शिक्षा कार्यालयबाट तोकिनेछ ।
(८) यस नियम बमोजिम स्थापना गरिएको शैक्षिक गुठीले यस नियमावली र अन्य प्रचलित कानून बमोजिम अाफ्नो कार्य सञ्चालन गर्नेछ ।